Friday, December 29, 2017

स्थानीय तहको अल्झन्

स्थानीय तहको अल्झन्

नेपालको ७५३ स्थानीय तहमा चुनावपछि जनप्रतिनिधिले कर्मचारी प्रशासनको सहयोगमा गाउँ तथा नगरका विकास कार्य अगाडी बढाइरहेका छन् । विशेषगरी नेपालको संविधानको अनुसूची ८ मा उल्लेख गरिएका २२ वटा अधिकारका सूची अनुसारका काम गर्ने गरी कर्मचारी समायोजन भइनसक्दा सम्मलाई सरकारले संक्रमणकालिन् व्यवस्था अन्तर्गत कर्मचारीहरुलाई कामकाज गर्न स्थानीय तहमा खटाइसकेको छ । कर्मचारी समायोजन ऐन आएपनि कर्मचारी समायोजन नियमावली तथा अन्य आवश्यक कार्यविधिहरु बनिसकेका छैनन् । यस कारण विकास निर्माणका कार्यहरु अगाडी बढाउन थुप्रै बाधाहरु आइरहेका छन् । निर्वाचित जनप्रतिनिधिहरु विकासका काम देखाउन अति नै हतारमा देखिन्छन् भने कर्मचारी प्रशासन संक्रमणकालिन स्थितिलाई गौर गरेर हेरेर मात्र चल्ने सोचमा देखिन्छ । स्थानीय तहले काम देखाउन नसकेको गुनासो जनतामाझ पनि बढ्दै गएको देख्न र सुन्न पाइन्छ । यसका कारणहरु थुप्रै छन् तथापी देखिएका मुख्य कारण र ती का समाधान मात्र स्थानीय तहबाट आफ्नै लागि विकास गर्ने प्रक्रिया अगाडी बढ्ने देखिन्छ ।
प्रशासनिक संक्रमणकाल: सशस्त्र द्वन्द्वको अन्त्यसँगै सुरु भएको दशकभन्दा लामो राजनीतिक संक्रमणकालको अन्त्य भएपछि प्रशासनिक संक्रमणकाल सुरु भएको मानिन्छ । २०७२ अशोज ३ को संविधानले केन्द्रिकृत ढाँचालाई संघीय तथा स्थानीय निकायलाई स्थानीय तहमा परिवर्तन गरेसँगै विद्यामान सेवा प्रवाह गर्ने शैली र कार्यालयहरुलाई संघीय ढाँचामा ढाल्न सुरु गरियो । नवगठित स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीहरु नेपाल सरकारले तत्काल उपलब्ध गराउनुपर्ने भयो । नेपाल सरकारसँग तत्काल मौजुदा रहेका कर्मचारीहरु नयाँ संरचनामा आवश्यक भए अनुसारको सेवा समूहमा पुग्दो नभएको, पुरानो कार्यालयबाट अचानक कर्मचारी पठाउन सहज नहुने र जान पनि नमान्ने, बढीजसो स्थानीय तह गाउँगाउँमा हुँदा सदरमुकाम केन्द्रित भएर बसेकाहरु स्थानीय तहमा जान आनाकानी गर्ने लगायतका समस्या देखिएका छन् ।
नियम कानूनको अभावनेपालको संविधान कार्यान्वयनमा आएसँगै अधिकांश पुराना ऐन, नियमहरुले काम नगर्ने स्थिति उत्पन्न भयो । स्थानीय स्वायत्त शासन ऐन २०५५, नागरिकता ऐन जस्ता स्थानीय तहसँग सम्बन्धित ऐनहरु तथा विभिन्न कार्यविधिहरु पूर्णरुपमा नयाँ संविधान अनुसार आइसकेका छैनन् ।स्थानीय तहका कयौं कानुनी प्रक्रिया र व्यवस्थाहरु प्रदेश प्रदेश कानून वमोजिम हुने उल्लेख छ तर प्रदेश सभाको गठनसम्म पनि भइसकेको छैन भने कानून बनाउने भन्ने त परेको कुरा भयो ।
भौतिक संरचनाको अपुग: सामान्य बुझाइमा पनि कृषि, पशुसेवा, शिक्षा, स्वास्थ्य देखि मालपोत, नापीसम्मका कार्यालयहरु स्थानीय तहमा गएका छन् तर भवन भने मुश्कीलले एउटा भेटिन्छ । त्यो पनि पुरानो गाविस भवन । कतै कतै त एउटा पनि कार्यालय भवन छैन । शाखापिच्छे कोठा या कार्यालय त कहाँ गाउँपालिकाकै कर्मचारी समेत फरक फाँटका कर्मचारी एकै ठाउँमा कोचिएर बस्न वाध्य छन् । कार्यालयको लागि उपयुक्त घरहरु भाडामा पनि पाउन सहज छैन ।
आवश्यक कर्मचारीको अपूग: कर्मचारी समायोजनको थालनी सँगै कुनै कर्मचारी सरुवा हलुका भएको पनि महशुस भइरहेको छ । पहिलो त दरवन्दी अनुसार कर्मचारी अपुग छ, त्यसमाथी सजिलै सरुवा हुने भएपछि कर्मचारीहरु पठाइएको स्थानमा नगई रोजेको स्थानमा गइरहेका छन् । गाउँपालिकामा अन्य कर्मचारीका अतिरिक्त सिभिल समूहका कर्मचारीको अभाव छ तर करार सेवामा भर्ना गर्न पनि सहज रुपले नसकिने व्यवस्था छ । सरकारले तत्काल आधाजसो गाउँपालिकामा नयाँ भर्ना भएका ३१ ‍औं ब्याचका शाखा अधिकृतहरुलाई कार्यकारी अधिकृत बनाएर पठायो । तर पनि लेखा, प्रशासन, वडाका सचिवजस्ता कर्मचारी अपुग भए । ६ हजारको हाराहारी रहेको वडामा वडा सचिव तत्काल त्यति नै संख्यामा चाहिने भए, त्यो पूर्ति गर्न तत्काल सम्भव भएन । अस्थायी रुपमा स्वीकृत दरवन्दी तालिका अनुसार ४६० गाउँपालिकामा प्रशासनिक, प्राविधिक कर्मचारी तथा कार्यालय सहयोगी २ जनाको दरले जम्मा ४ हजार १ सय ४० जना, २७६ नगरपालिका, ११ वटा उपमहानगरपालिका र ६ महानगरपालिकामा जम्मा २ हजार ९ सय ३० जना  तथा ६७०० को हाराहारीमा रहेको वडामा कम्तीमा २० हजार १ सय गरी २७ हजार भन्दा बढी कर्मचारी आवश्यक पर्ने भयो । तर यति धेरै कर्मचारीको सेवा समूह अनुसार कर्मचारी अस्थायी समायोजन गर्न गाह्रो भयो । सबैभन्दा समस्या भनेको सिभिल समूहका प्राविधिक कर्मचारीहरु सबै स्थानीय तहमा जान सकेनन् । वडाहरु तत्काल एकैजना वडा सचिवले २/३ देखि ६/७ वटासम्म हेर्नुपर्ने समस्या विद्यामान रहेका छन् । यी कारणले गर्दा स्थानीय तह आँफैले संचालन गर्ने विकास निर्माणका कार्यहरु ठप्प भएका छन् । पहिलो चौमासिकको अन्त्य कार्तिक महिनामा हुन्छ, तर प्रायजसो स्थानीय तहमा सम्झौता गर्ने काम पनि सुरु भएका छैनन् ।
भौगोलिक विकटता तथा विकासका पूर्वाधार अभाव: नेपालको भौगोलिक वनावटमा पहाडी क्षेत्रको बाहुल्यता छ । त्यहाँ सडक, संचार, विद्युत जस्ता पूर्वाधारको कम विकास भएको छ । यस कारण विकास निर्माणका कार्यहरु ढिला र खर्चिलो हुने तथा अन्य पूर्वाधार विकास हुन नसक्ने अवस्था छ । विशेषत गाउँपालिकाहरुमा '' वर्गको वाणिज्य बैंङ्कहरु पुग्न सकेका छैनन् । त्यस्तै सुरक्षा निकाय पनि कमदेखि शुन्यको अवस्थासम्म देखिन्छ । '' वर्गको वाणिज्य बैंङ्क नभएको अवस्थामा सरकारी कारोवारको लागि पनि सदरमुकाम पुग्नुको विकल्प छैन । राष्टबैंकले सरकारी कारोवारमा १ लाख रुपैंयाभन्दा माथि नगद कारोवार गर्न नसकिने तथा १० लाख माथिको कुनै नगद कारोवार नहुने व्यवस्था गरेको छ । यस कारण पनि प्रत्येक स्थानीय तहमा '' वर्गको वाणिज्य बैंङ्क अनिवार्य आवश्यकता हो ।
अधिकार क्षेत्रबारे अस्पष्टता: सुरुमा चलिराखेको 'हाकिम' पद्दति परिवर्तन भएर 'जनप्रतिनिधि र हाकिम' पद्दतिको सुरुवात भएको छ । तर कर्मचारीले के के गर्ने र जनप्रतिनिधिले के के गर्ने भन्नेमा नै उनीहरु आँफै स्पष्ट छैनन् । यसो हुँदा अधिकार क्षेत्र मिचिने तथा प्रक्रिया लम्विने जस्ता समस्या आउने गरेका छन् । यस कारण कर्मचारी जनप्रतिनिधि बिच विवाद तथा द्वन्द्व आउन थालिसकेको पनि सुनिनमा आइसकेको छ । नेपालको यो संघीय व्यवस्था विल्कुलै नयाँ हुनाले पनि यो पद्दतिमा आउन केही समय लाग्छ नै ।
उच्च जनअपेक्षा: इतिहासमा पहिलो पटक सम्पन्न भएको स्थानीय तहको चुनाव २ दशक पछि भएको स्थानीय स्तरको निर्वाचन हो । हालसम्मको जनप्रतिनिधि शुन्यता तथा विकास देख्ने ईच्छाहरु पूरा गर्न थोरै समयमा सम्भव छैन । यसर्थ उच्च जनअपेक्षाको कारण पनि स्थानीय तहमा केही नभएको गुनाशा बढ्न थालेको देखिन्छ ।
यी समस्याका हल नै सबै थोकको हल नभए पनि प्रारम्भिक हल चाँही हुने अपेक्षा गर्न सकिन्छ । कर्मचारी समायोजन छिट्टै सकेर नयाँ दरवन्दी सृजना गरी पदपूर्ति हुन सके कर्मचारीका क्षेत्रमा देखिएका समस्या समाधान हुनसक्छ । संविधान अनुसारका ऐन नियम तथा कानूनहरुको तर्जुमा गर्ने, प्रदेश सभाबाट बन्नुपर्ने कानून अविलम्ब निर्माण गर्ने लगायतका कार्य गरिएमा तत्कालका समस्या समाधान हुने देखिन्छ ।
-        केडी रेम्नीसीङ, माहाकुलुङ गाउँपालिका, बुङ, सोलुखुम्बु ।

Monday, December 4, 2017

चुनाव आएछ.....

चुनाव आएछ.....

–केडी रेम्निसीङ

फेसबुकका वालहरु हेरेर,
त्यहाँ रंगिएका भित्ताहरुबाट,
थाहा हुन्छ, फेरी एकपल्ट,
थाहा भै सकेकै कुरा,
चुनाव आएछ ।
भोटका कुरा गर्छन्,
मिठा मिठा नारा दिन्छन्,
नोटका कुरा नि गर्छन् (कोही कोही)
फेसबुकेहरु, पुरानाहरु, नयाँहरु, सबैहरु,

म त भोटर हुँ रे,
म्यासेज आउँछ, फोन आउँछ,
कोही भन्छन् प्यानलमा,
कोही भन्छन् गर्नुपर्छ क्रस,
बोलीरहन्छन् आ–आफ्नै च्यानलमा,
सुनिरहन्छु नगरी नगरी ब्रस,
पढ्नुछ, ठूलो मान्छे बन्नु छ,
केको पढाई कलेजमा  नाराबाजी छ,
फेरी याद आउँछ,
चुनाव आएछ ।

ए! हिजो भेट्दा नचिन्ने मान्छे,
देखेर नि नदेख्ने मान्छे,
दाई भएको छ, भाई भएको छ,
दिदी भएको छ, बहिनी भएको छ,
प्रेमिका र जेठान हुन बाँकी,
सालो र साली हुन बाँकी,
कोही कोही त त्यो पनि हुनु नि,
यही मौकामा,
भोली प्रेम प्रस्ताव नै आएपनि,
लाग्नेछ,
चुनाव आएछ ।

आज बल्ल,
साथि चाहियो, साथिको भोट चाहियो रे,
नाताको चाहियो, जातिको भोट चाहियो रे,
एउटा भन्दै थो रातीको भोट नि चाहियो,
यो रातीको भन्या के?
भोट माग्नलाई जे पनि भन्ने?
होइट! कहाँबाट आयो हौ?
यत्रो विधि देशभक्ति!
बल्ल फेरी थाहा भयो,
चुनाव आएछ ।

यो नै बेला हो, समय हो,
नमस्कार पाइने, सम्मान पाइने,
पर्सि त चुनाव हुन्छ,
जित्नेले जित्नेछ, जित मनाउनेछ,
हार्नेले भन्नेछ, ठूलै चाल भो,
अनि सब विलाउने छन्,
अर्को चुनाव नआएसम्म फेरी,
हार्ने, जित्ने, हराउने, जिताउने,
कुनै दिन फेरी दोहोरिनेछ,
उस्तै उल्लास, उमंग, तरंग,
अनि फेरी पनि थाहा हुनेछ,
चुनाव आएछ ।