Monday, August 17, 2015

कुलुङ समुदाय चाक्चाकुर सभाको भव्य तयारीमा

बुधवार, २०६८ मंसिर ०७ गते १५:३१
काठमाडौं, ७ मंसिर, सोलुअनलाइन– महाकुलुङ सभ्यता र भूगोलभित्र जीवनयापन गरिरहेका सबै समुदायलाई एक ढिक्का बनाइ आफ्नो पहिचान तथा सबैखाले अधिकारप्रति चेतना प्रवाह गर्ने उद्देश्यले पिल्मो उर्बर भूमिमा सार्वभौम प्राचीन कुलुङ जातिको विविध धार्मिक तथा साँस्कृतिक झाँकीसहित पहिलो पटक चाक्चाकुर पर्व मनाउने तयारी गरिएको छ । यहि पौष १५ देखि १७ गतेसम्ममा पिल्मो निम्न माध्यमिक विद्यायलमा सो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।   
कुलुङ संघ जिल्ला शाखाको आयोजनामा सम्पन्न हुने सो चाक्चाकुर सभालाई सम्बोधन गर्न प्रमुख अतिथि र अतिथिको रुपमा कुलुङ संघ केन्द्रीय कार्यसमितिका महासचिव इन्द्र कुलुङ र कुलुङ विद्यार्थी संघका केन्द्रीय महासचिव श्री केडी रेम्नीसिङ कुलुङ काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष चन्द्रसिंह लोवात्ती कुलुङले बताउनुभयो । उक्त कार्यक्रममा महाकुलुङका ५ वटै गाविसमा बसोबास गर्ने कुलुङ जातिहरुको हजारौको संख्यामा उपस्थिति रहने जनाइएको छ । 
महाकुलुङको औपचारिक कार्यक्रम समापनपछि महासचिव द्वय महाकुलुङको साँस्कृतिक तथा ऐतिहासिक गढी कुलुपोङखो (जहाँ इतिहासको विभिन्न कालखण्डमा बाह्य शत्रुसंग कुलुङ पुुर्खाहरुले वीरताकासाथ लडेर आफ्नो समुदाय र भूगोलको संरक्षण गरेका थिए) हुँदै सुनसरीको धरानमा आयोजित कुलुङ पुर्खाहरुको १० दिने राष्ट्रिय महासम्मेलनमा सरिक हुने कार्यक्रम रहेको कुलुङ संस्थाका केन्द्रीय कोषाध्यक्ष भलाकाजी कुलुङले जानकारी दिनुभयो । उक्त १० दिने राष्ट्रिय पुर्खा महासम्मेलन पनि चाक्चाकुरसंगै आरम्भ हुने बताइएको छ । सो महासम्मेलनले कुलुङ समुदायको साझा दर्शनको विकास गर्ने सरोकारवालाहरुको दाबी छ । 
 महाकुलुङ भन्नाले विशाल र अविचलित उपत्यका हो । जुन साँस्कृतिक, धार्मिक,जैजिक, सामाजिक तथा पर्यावरणीय दृष्टिकोणले विश्वको विविधतायुक्त उपत्यको नामले परिचित छ । यद्यपी यसलाई आदिवासी कुलुङ जातिहरुको सामूहिक पुर्खौली तथा उत्गम थलो पनि मानिन्छ ।  
आदिवासी कुलुङ जातिको विकास र विस्तार चार वंशको पुर्खाहरुको साझा इतिहास र महान सभ्यताको संयोजनबाट निर्माण भएको वैज्ञानिक तथा ऐतिहासिक तथ्यहरु आजसम्म सुरक्षित रहेको जानकारहरु बताउछन् । त्यसका लागि इतिहासका ती महानतम् पुर्खाहरुप्रति श्रद्धा र सम्मान प्रकट गर्नै पर्छ । मूलत कुलुङ साहित्य र साँस्कृतिक दर्शन विकास ताम्सी, पिल्मो, सोत्तो र  छेम्सी पुर्खाहरुको सामूहिक  योगदान र बलिदानबाट सम्भव भएको हो । यी चार बंशमध्येको पिल्मो वंशको स्वर्णिम साँस्कृतिक भूमिमा विधिवत रुपमा  प्राचीन जाति कुलुङहरुको साझा तथा राष्ट्रिय चाड चाक्चाकुर संस्थागत रुपमा मनाइनु नितान्त आम कुलुङ महानुभावहरुको लागि गौरवको विषय बनेको आयोजक समितिले सोलुअनलाइनलाई जानकारी गराएको छ ।

No comments: