Friday, July 18, 2014



हाम्रो देश नेपाल हिमाल, पहाड र तराई मिलेर भनेको अति सुन्दर सदावहार, पुष्पपल्लवी,  अनि प्रकृति नै प्रकृतिले सजिएको छ । हुन पनि हो प्रकृति भने पछि चरा चुरुङ्गी, जङ्गली जनावर र हामी मानव जो कोहि पनि रम्ने गर्दछौं त्यसैले प्रकृतिसँग रम्न अनि आफ्नो पारिवारीक खुसी मनाउनको लागि पर्यटकहरु पनि नेपालको साँस्कृतिक सम्पदा, प्रकृतिक सम्पदा, पुरातात्विक सम्पदा आदिको अवलोकन गर्नको लागि वर्षेेनि आउने गर्दछ ।
          सोलुखुम्बुको महाकुलुङ भने पछि सबैले बुझ्ने गर्दछ की सोलुखुम्बु जिल्लाको र्दुगम गा.वि.स.हरु बुङ, छेस्काम, गुदेल हो त्यहा कुलुङबस्ती रहेको छ, तर त्यस बस्ती भित्र के कस्तो सम्पदाहरु रहेको छ त्यसको कुनै पनि लेखा जोखा छैन जिल्लासँग । नेपालमा अहिले कै परिस्थीतिले हेर्ने हो भने हाम्रो महाकुलुङ क्षेत्रमा न त विकासको काम नै पुग्न सक्छ न त त्यहाको सम्पदाको जगेर्ना नै हुन सक्छ । त्यहाका स्थानिय जनताले मात्र कति दिन सम्म त्यस क्षेत्रको सम्पदाको संरक्षण र सम्वर्दन गरिरहन सक्छ त ? 
      आज राज्यको नजर नपुगेको थोकोपैस झरनाको विषयमा मलाई केहि कुरा लेख्न मन लागेको छ, त्यसैले सोलुखुम्बु जिल्लाको सदरमुकाम देखि १७ कोष टाढा रहेको महाकुलुङ क्षेत्रमा रहेको  एक सुन्दर र अग्लो रहेको छ थोकोपैस झरना । यो झरना करिब ३०० मिटर अग्लो छ तर यसको कुनै संरक्षण गर्ने प्रयास नै छ न त कसैको चासोको  विषय नै भनेको छ । समय बित्दै जान्छ त्यस क्षेत्रको जनसंख्या बृद्धि तिब्र रुपमा हुदै गई रहेको छ, अहिले हेर्ने हो भने वर्षतको समयमा मात्र त्यस झरनाको प्रत्येक श्रृङ्गारिकतासँग खेल्न सकिन्छ भने त्यहा खाने पानीको अभावका कारण चिङ्केम्माला, जम्कोत, बनाम्बस्को, झरिङ्गे, वास्सेम्ला आदि ठाऊतिर कुलो खनेर पानी लान थाले पछि त्यसको संरक्षणको विपरीत हिउद महिनामा त त्यस झरनामा  पानी झरेको नै टाढाबाट देख्न नसकीने भईसकेको छ । 
       थोकोपैस नाम कुलुङ भाषामा राखिएको हो भन्ने किम्वदन्ती पाईन्छ, थोकोपैस दुई वटा शब्द (थोको + पैस) मिलेर भनेको हो कुलुङ भाषमा थोको भनेको भिर मौरीको मह काट्नको लागि भिरमा जानको लागि मालिङ्गोको चोयाले बुनेर बनाएको एक प्रकारको सिढी हो यसको प्रयोग गरे पछि अग्लो–अग्लो भिरमा पनि जान सकिन्छ । र पैस भनेको छुन जानु हो । धेरै पहिला कुलुङ खुक्सुहरु त्यस ठाऊमा भिर मौरीको मह काट्न जाने गर्दथे र अहिले पनि त्यस झरनाको छेऊछाऊमा भिर मौरी बस्ने गरेको छ । किमवदन्ती अनुसार थोको प्रयोग गरेर मात्र त्यहाको भिर मौरीको मह निकाल्ने गर्दथे र त्यस झरना लाई छुन पुग्दथे त्यसैले पछि त्यहि मह काट्ने ठाऊको झरनाको नाम अहिले शाब्दीक रुपमा थोकोपैस झरना रहन गएको हो । 
                    अन्तमा यस महाकुलुङ क्षेत्रमा रहेको थोकोपैस झरना लगायत प्रकृतिक सम्पदामा पनि राज्यको नजर पुग्ने हो भने यो एक पर्यटकिय पदमार्ग हुनेछ र त्यस र्दुगम मानिएको क्षेत्रभित्र बस्ने कुलुङहरुले पनि आफ्नो व्यवसायलाई फस्ताउने छ । बेरोजगार कुलुङ युवाहरु पनि स्वरोजगार युवाको रुपमा स्थापित हुनुका साथै हाम्रो देशको पहिचान र गौरवमा पनि अवस्य टेवा पुग्ने छ ।  त्यसैले राज्यको नजर अब महाकुलुङ क्षेत्रमा पनि हुनु पर्छ भन्ने हाम्रो माग हो र जरुर पनि छ ।   

वागमान कुलुङ

वागमान कुलुङ - किरती पुर्खाहरु छेम्सी र ताम्सीले स्थापना गरेको मेरो बस्ती । त्यही बस्तीको वरिपरि छितिजसंग जो मेरो बस्तीमा छहारी मिलेको छ र त्यहाँ पुग्न सके चिसो आकास छुन पाईन्छ । २०५५ सालतिरको कुरा डिएर जुक्तुस्को, भुकुर र शिलुछो हिमाल उभिएको छ । बच्चामा मैले सोच्थे ति हिमालहरुले आकाश थेगेर हो, कक्षा आठमा पढ्दै थिए । 
एकदिन मकालु बरुण राष्ट्रिय निकुञ्जले उक्त हिमालतिर गस्तीमा जाने टिममा एकजना सामुदायिक बनको प्रतिनिधी पठाउन मेरो बुबा बन अध्यक्षलाई पत्र पठाए । पत्र लुकाएर भित्र भित्र आफै जाने तयारी गर्दै गएँ । जब भोली पल्ट जाने दिन आयो मैले समितिका सबैजनालाई पत्र देखाउदै आफु जाने प्रस्ताव आफैले गरें । दाँया बाँया कुरा गर्नेलाई भनिदिएँ, तपाईहरु समितिको लेखन्दास मात्र बनाउने कि यस्तो अवसरमा पनि पठाउने । पत्र लुकाउने फुच्चेको कुरा सुनेर सबैजना हाँसे  र पठाउने निर्णय गरे । त्यसपछि मैले केटाकेटीमै पहिलोपल्ट सोलुखुम्बुको भूकुरदेखि केन्पा, भालुखोपहुदै धर्मढोकासम्मको हिमाली पर्यटक बन्ने अवसर पाएँ ।
२०५८ सालमा मेरो एस एल सि परिक्षा थियो तर मैले अहिले फेल हुने २ लाख १४ हजार ७० जना जस्तै फेल गरें । अंग्रेजी र बिज्ञानले ढोका दियो कम्पार्ट पाईयो । कम्पार्ट पाउनेले पास गरे पनि सोही साल कलेज भर्ना हुन नपाउने नियम थियो उत्तिबेला । कम्पार्टबाट पास गरें तर पनि एकवर्ष पछाडि पर्ने निश्चित भयो । म ट्रेकिङ हिडे लुक्लातिर भारी बोक्नलाई । तर त्यहाँ पुग्नेबित्तिकै केही मानिसहरुले यसले भारी बोक्न सक्दैन, हिमालतिर जान सक्दैन भन्ने कुरा काटिरहेको मैले आफ्नै कानले सुनें । झंगिदै मैले प्रश्न गरें, खुम्बुको सबैभन्दा अप्थ्यारो ट्रेकिङ कुन हो ? सबैबाट उत्तर आयो सेतीपोखरी भएर ५,८०० मिटरको आम्फुलाप्चा र ५,४१५ मिटरको मेराला पास गर्नु । मैले त्यहाँ जाने इच्छा ब्यक्त गरे । सबैजना स्तब्ध भए मेरो चिन्ताको खातिर । म गएँ भारी बोकेर । टिममा शुरुमा भारी धेरै हुन्छ तर जति माथी गयो खाएर खानेकुरा सिद्विने भएकोले हलुका हुन्छ । अरु साथीहरु जति लेकतिर गयो उती बिरामी तर मलाई चाही उती राम्रो ।
आखिर म लेक नलाग्ने जन्तु रहेछु । 
सेती पोखरी भ्यालीमा पुगेपछि खाना बनाउन दाउरा खोज्नु पर्दथ्यौ । दाउरा खोज्ने क्रममा भेटियो केही मानिसका लासहरु । लासले मेरो सम्पुर्ण ध्यानाकर्षण ग¥यौ । आखिर यी मानिसहरु किन मरे ? मर्न त मरे तर उनीहरुको लास किन बेवारिसे भयो ? के उनीहरुको दाहसंस्कार गर्ने कुनै सस्कार छैन ? मैले मेरो साथीहरुलाई यस्तै प्रश्न गर्थे । उक्त सेतीपोखरी उपत्यकामा पुगेपछि निस्कनको लागि ४ वटा बिकल्पहरु छन् मेराला पास ५,४१५ मि., आम्फुलाप्चा पास ५,८०० मि., मिङबोला पास ५,८१७ मि. र शेर्पेनीकोल पास ६,१३५ मिटरको । यी उपत्यका आफैमा त्यस्तो लेक नभए पनि निस्कनको लागि कम्तिमा ५,४१५ मिटरको मेराला पास गर्नुपर्ने हुन्छ । पर्यटक भरियाहरु हिमपात भएको बेला र बिरामी भएको बेला उक्त उपत्यकाबाट निस्कन नसकेर मर्ने रहेछन् । त्यतीबेला टे«किङ कम्पनीले हेलिकप्टर पठाउनु पर्ने हो तर कतिपयले पठाउदैन रहेछ त कतिपयले पठाए पनि हिमपात भएको बेला उत्रन गाह्रो हुने रहेछ । यसैले मान्छे मर्दो रहेछ, र मर्दै आएका छन् । कारण पत्ता लाग्यो । दुखित बनायो यसले मलाई । 
उक्त सेतीपोखरी भञ्ज्याङमा रहेको सेतीपोखरीमा नअटेर बग्ने हिमनदीहरु निरन्तर दक्षिणतिर बगिरहेको थियो । आखिर यो पानी कहाँ पुग्छ ? मैले सोचें र प्रश्न गरे । अग्रजहरु भन्दै थिए यो त त्यही छेस्काम, गुदेल, बुङ र सोताङ हुदै बग्ने हँगा नदीको मुहान पो हो त । त्यसो भए निश्चित हो यो नदीले कुनै हिमाली भञ्ज्याङ पार नगरी बस्ती भएको तल्लो सोलुखुम्बु सिञ्चित गर्छ । जब हामी खुम्जुङको छिकुङ लक्षित गरी आम्फुलाप्चाको पहिलो क्याम्प पुग्यौ मैले कक्षा आठ पढ्दै गर्दा मकालु बरुणको टिमसंग बिचरण गरेको ठाँउहरु प्रष्ट चिन्थें । त्यो नजिकै थियो । मैले सोच्थें, यो उपत्यकाबाट हंगा खोलाको किनारै किनार तल्लो सोलुखुम्बु जाने पर्यटन पदमार्गहरु बनाउन सके त्यसले उद्धारमार्गको काम गर्थे र फेरी फेरी यसरी लासहरु हेरेर तर्सिनुपर्ने अवस्था आउदैनथ्यौ ।
तर कुरा केही वर्षको लागि यतिमै सिमित भयो । म कलेज पढ्न काठमाडौं आएँ । अंग्रेजी सुधार्न टेन्सबाट शूरुवात गरे । रेशम शर्मा मलाई अति मनपर्ने अंग्रेजी शिक्षक थियो । मैले मेरो स्तरबाट अंग्रेजी सुधार्नु सुधारे । म अहिले विदेशतिर गएर अंग्रेजीमा नेपालको अवस्थाबारे अपडेट गर्न सक्छु र मेरो संस्थाले धुक्कले त्यसको लागि जिम्मेवार दिन्छ ।
कलेजबाट बिदा मिलाएर घर आउदा सेतीपोखरीदेखि छेस्कामसम्म पर्यटन उद्धारमार्ग बनाउन सकिने सम्भावनाहरुबारे अनुसन्धान गरिन्थ्यौ । त्यस ठाँउतिर भेरा र चौरी गोठाला जानेहरुलाई बाटो र भौगोलिक अवस्थाको बारेमा सोधेर नोट गरिन्थ्यौ । उक्त नोटकै आधारमा एकदिन बुङ जनकल्याण केन्द्रको मुखपत्रमा उक्त नयाँ पर्यटन पदमार्गको सम्भावना छ भनेर लेख लेखियो । लेखमा एक वर्षसम्म कुनै कमेन्ट पाइएन । लाग्यौ यो वाइयात प्रयास रहेछ । हावादारी लेख लेखिएको रहेछ । तर यस पदमार्ग विकासको सम्भावनाबारे खोटाङका सगरमाथा आरोही नाम्गेल शेर्पाले पनि अनुसन्धान गर्दै आएको रहेछ । एकदिन उसले कान्तिपुर दैनिकका पत्रकारहरुलाई लिएर हेर्न गाँउतिर गएछ । सबैलाई यसबारे सोधेको रहेछ । तर कुनचाहीले यसबारे जान्ने मान्छे त वागमान पो हो त उसलाई उतै काठमाडौंमै भेटिन्छ भनेर मेरो नम्बर दिएको रहेछ । आएर उहाँले फोन गर्नुभयो र मलाई उत्साह दिनुभयो । त्यसपछि भने मैले सही सोँच बनाएको रहेछु भन्नेमा पहिलोपटक आफै धुक्क भएँ । 
२०६७ सालतिर काठमाडांैमा यसलाई टेबलगफको विषय बनाईन्थ्यौ । लेखेर राखेको अवधारणा प्रिन्ट गरेर अरुलाई दिइन्थ्यौ । २०६८ सालतिर धर्मडाँडा शेर्पा समाजका साथीहरुले एभ्युन्युज टेलिभिजनका यात्रा कार्यक्रम निर्माताहरुलाई यसबारे सुनाएका रहेछन् र थप जानकारीको लागि मलाई भेटाउन सुझाब दिएका रहेछन् । अचानक उक्त ठाँउको डकुमेन्ट्री बनाउन प्रस्तावसहित फोन आयो । हामीले जिल्ला प्रविधिक कार्यालयका प्रतिनिधीहरुसमेत लिएर सर्बेक्षण र डकुमेन्ट्री दुवै बनाउन जाने योजना बनायौ । जसको लागि दश लाख जुटाउनुपर्ने थियो । हाम्रो भागमा त्यसको तीन भागको एक भाग प¥यो । आँट ग¥यौ सबैलाई गुहा¥यौ । सबै गाँउलेहरुले र गाँउबाट काठमाडौं लगायत देश विदेशमा बसेकाहरुले सहयोग गरे । सम्भावित सबै क्षेत्रको सर्वेक्षणको लागि ३६ दिनको यात्रा तय गरियो । अंग्रेजी भाषामा डकुमेन्ट्री तयार भयो । नेपालीमा टेलिभिजनमा प्रशारण भयो । जिल्ला प्राविधिक कार्यालयको प्राविधिकले ६८ लाख रुपैया बजेट भए उक्त बाटो उद्धारमार्गको रुपमा तयार हुने प्रतिवेदन तयार ग¥यौ । उक्त कार्यको लागि योजनाको भन्दा एक लाख बढी खर्च लाग्यौ । उक्त टिमको तिर्न बाँकी खर्च छेस्कामको दुईवटा किराना पसलमा मेरो र भलाकाजी दाईको नाममा थियो ।
हामी काठमाडौंमा बजेट खोज्न दौडधुप गरिरहेको थियौं । खिलाराज बस्नेत र हिम नाछिरिङ दाईले हामी झगडा गरेर भए पनि जि.वि.सबाट निकाशा गरिदिन्छौं भनेर सान्तवा दिए । यसरी ऋण गरी गरी सर्बेक्षणको लागि सेतीपोखरी हिडेका साथीहरुको बीचमा फेरी खानेकुरा सिद्धियो तत्काल हेलिकप्टर पठाई उद्वार गर्न वा ३ दिनभित्र खानेकुरा सहित भरियाहरु आईपुग्ने गरी पठाउनको लागि फोन आयो । हेलिकप्टर पठाउदा थप ऋणमा डुब्ने र आफुले चाहेको मिसन पुरा नहुने निश्चित थियो । त्यसपछि हामीले तत्काल जाने भरियाहरु खोज्यौ । पर्यटन सिजन परेकोले कोही जान मानेनन् । अन्तमा स्थानीय नै वर्ण कुलुङ सहित ३ जना भरियाले जाने तत्परता देखाए । उनीहरु गएपछि मिसन टिमले खान पाए र कार्य सफल भयो ।
त्यसपछि स्थानीय राजनीतिक तथा सामाजिक कार्यकर्ताहरुको पहलमा तत्कालै अर्थ मन्त्रालय र द ग्रेट हिमालयन ट्रेल परियोजनाले १८ लाख लगानी गरेर उक्त बाटो बनाउन शुरु गरेका छन् । तर यसभन्दा अगाडि पनि दुर्गम क्षेत्र विकास समितिको केही रकम उक्त बाटोमा लगानी गरिएको थियो । अहिले सबैले यसबारे पहल गरिरहेका छन् । म यो बाटो बन्नेमा र यसले तल्लो सोलुखुम्बुमा पर्यटन गतिविधी बढाउनेमा ढुक्क छु । चाडै नै यो बाटो तल्लो सोलुखुम्बुलाई सिञ्चित गर्ने र हिमपातमा बर्बाद भएकाहरुको उद्धारमार्ग हुनेछ । तर दुःख लाग्दो कुरा यस मिसनमा सहयोग गर्ने नाम्गेल दाई दुईवर्ष अघि सगरमाथा आरोहणको क्रममा बित्नुभयो, हिम नाछिरिङ दाई १ वर्ष अघि सडक दुर्घटनामा बित्नुभयो भने नै वर्ण कुलुङ ब्लडप्रेसरको रोगले ४ महिना अगाडी बित्नुभयो । 
अहिले आएर सोच्दा मैले एस एल सि फेल नगरेको भए मेरो अंग्रेजी पनि सुध्रिदैनथ्यौ र यो बाटोको पनि अरु कसैले पहल गर्दा अलि ढिलो हुन्थ्यौ जस्तो लाग्छ र जे भयो राम्रै भयो कि भन्ने पनि लाग्छ । आज एस एल सिमा पहिलो र डिस्टिक्सन श्रेणीमा पास गर्नेहरुलाई अनाआवश्यक सेलिब्रेटी बनाईएका छन् र फेल गर्नेहरु बढी चिन्तामा छन् तर यी दुवै वाइयात हुन् । तपाई फेल गर्नेहरुसंग उमेर छ, समय छ, चिन्तालाई हिम्मतमा बदल्नुभयो भने निश्चित हो, आगामी १० वर्षमा अहिले पास गर्नेहरुभन्दा तपाई अगाडि हुनुहुनेछ । तर हिम्मत हारेर टेन्सन भयो भन्दै जाँड रक्सी नखानुहोस्, थप पढ्न प्रतिवद्ध हुनुहोस् । सके यस्ता प्रतिवद्वता लेखेर आफ्नो नोटकापीमा सुरक्षित राख्नुहोस् । त्यसले तपाईलाई समय समयमा उर्जा दिन्छ । यो लेख यस पर्यटन पदमार्ग निर्माणको मिसनमा सहयोग गरेर बितेका ३ जना योद्धाहरु र आज एस.एल.सिमा फेल हुने बिधार्थीहरुप्रति समर्पित गर्न चाहन्छु ।