Tuesday, May 16, 2017

बुवाले खेत वेचेछन्

खेतको नाममा त्यति एउटा बारी थियो हाम्रो । पुख्र्यौली सम्पत्तिको रुपमा जिजुले बाजेलाई र बाजेले बाबालाई अंशको रुपमा दिँदै ल्याउँदा ‘हाम्रो खेत’ भएको थियो त्यो । हाम्रो खेत पुग्न घरदेखि दश मिनेटजति ओरालो हिँड्नु पथ्र्यो । बुवाको नाममा रहेको जम्मा पैतीस रोपनी जति खेतबारी मध्ये दुई गरा मात्र भएको त्यो खेत करिव आधा रोपनी क्षेत्रफलमा फैलिएको थियो । सानो क्षेत्रफलको भएपनि त्यो खेत हाम्रो लागि धेरै महत्वको थियो । हाम्रो लागि सान, न्वागी खाने, रमाइलो गर्ने राम्रो स्रोत थियो । ‘असार पन्ध्रमा त राजा पनि हिलोमा निस्किन्छ, त्यसैले हामी पनि हिलोमा निस्कनु पर्छ’ भनेर गाउँमा भन्ने गर्थे । ‘आज त राजा पनि धान रोप्दै छन्’ भन्दै हामी पनि रमाउँथ्योँ ।
वर्षमा एकपटक धान रोप्न जान पाइन्थ्यो । असार पन्ध्रको मौका पारेर एकदिन रोप्ने खेत कम्तिमा तीन चार घर मिलेर मात्र बल्ल एक मेलो हुन्थ्यो । काका, ठूलोबा हरुको पनि हाम्रो जति जति नै खेत थियो । सबै मिलेर गएपछि एक हलको एक मेलो हुने खेत जान हामी असार लाग्ने वित्तिकै देखि उत्साहित हुन्थ्योँ । खेत रोप्नु कोदो रोप्नुभन्दा साह्रै रमाइलो लाग्थ्यो । खेत रोप्दा खुला ठाउँमा हिलोमा खेल्दै रोप्न पाइन्थ्यो भने कोदो रोप्दा मकैबारीभित्र हराइहालिने हुन्थ्यो । खेत रोप्दा अर्को रमाइलो कुरा भने खाजा खाने बेला लाग्थ्यो, गाउँमा मौसमी खेती प्रणाली हुनाले मकै, आलु, नयाँ गहुँको रोटी आदि पहिलो पटक सँगै खान पाइन्थ्यो । हिलो छ्यापाछ्याप गर्दै धान रोप्न यति रहर लाग्थ्यो कि एकपटक काठमाण्डौ देखि असारमा गाउँ आउँदा हाम्रो खेत रोपिसकेकाले छ्यामा निरिषहरुको खेत रोप्न पुगेको थिएँ । खेतमा धान र आली आलीमा भट्मास रोप्न कम्ति रमाइलो लाग्थेन ।
खेतमा मल हाल्नको लागि घरदेखि मल बोक्नु पथ्र्यो । जसको लागि अशोज कार्तिक देखि झारपात, पतकर बोकेर सुँगुरको खोरमा हाल्ने गरिन्थ्यो । साथीहरुसँग विद्यालय छुट्टी भएपछि जंगल जान साह्रै रमाइलो लाग्थ्यो । पालैपालो एकएक जनाको घरमा ल्याउने गरी पर्म खेलिन्थ्यो । त्यसै गरी पछि माघ फाल्गुन महिनामा पनि खेतमा मल बोक्न पर्म गरिन्थ्यो । घरबाट भागेर रमाइलो गर्ने पनि राम्रो मौका मिल्थ्यो । भागेर प्राय हामी खोलामा पौडी खेल्न जाने गथ्र्योँ ।  डोकोबाट घोप्टाउँदा हिमाल जस्तो अग्लो आकार बनाउन रमाइलो लाग्ने हुनाले मल बोक्दा सकेसम्म धेरै बोक्न प्रतिस्पर्धा हुन्थ्यो । ‘कसको अग्लो हिमाल’ भनेर साथिहरुसँ दाँज्थ्योँ । केही दिनमा त आमा बाले मल फिँजाएर हाम्रो हिमाल सारा भत्काइसक्नु हुन्थ्यो । हामी आफूले बनाएको हिमाल नदेख्दा ‘पासाङल्हामु पनि हिमालमै हरायो हिउँसँगै’ भनेर भन्थ्योँ ।
हाम्रो गाउँमा हरियो मकै र नयाँ आलु खान असार अन्तिम नै कुर्नु पथ्र्यो । यो कुर्न हामीलाई धेरै मुश्किल लाग्थ्यो । मलाई अगेनाको छेउमा राखेर पोलेको मकै सँग फर्सीको मुन्टा र आलुको तरकारी खान साह्रै मन पर्ने । अनि मही वा दही सँग पनि पोलेको मकै खुब खाइन्थ्यो । जसको लागि म हरेक शनिबार लेकको खर्कमा रहेको गोठमा सामल पु¥याउन र दुध, दही, मही लिन जान्थेँ । हाम्रो खेतको मकै र आलु भने जेठको अन्तिम तिरै खाने बेला हुन्थ्यो । अलि अलि गरेर त्यसले असार पन्ध्रसम्म पुग्थ्यो । तर कति फारो गरेर खानुपथ्र्यो भने कहिल्यै धीत मर्ने गरी खान पाइन्नथ्यो । कान्छी फुपु हुँदासम्म कहिलेकाँही माइत आउनु हुन्थ्यो कोशेली बोकेर, कति खुशी लाग्थ्यो भने जेठ महिनामा त एक दिन बिराएर सँधै आए नि हुन्छ भन्ने लाग्थ्यो । उहाँको घर अलि अउलमा थियो, त्यसैले खेत बढी नै थियो उहाँहरुको । पछि फुपु वित्नु भएपछि भने फुपुको घरसँग टाडिनुु प¥यो ।
गाउँघरमा खेत भएको परिवारलाई अलि सम्पन्न परिवार मान्ने चलिआएको रहेछ । खालिङ गाउँकी एउटी कन्यासँग मेरो प्रेम सुरु भए पछि मलाई एकदिन उनले सोधेकी थिइन्, ‘तपाईंहरुको खेत चाँही छ कि छैन?’ मैले ‘किन हौ?’ भनेर सोद्धा ‘त्यतिकै, बुवा आमाले ‘खेत भएकोलाई नै छोरी दिन पाए राम्रो’ कुरा गर्दै गरेको सुनेर नि’ भनी । मैले, ‘यदि हाम्रो खेत नभएको त हाम्रो सम्बन्ध अगाडी नै नबढ्ने पो हो कि के हो?’ भने । ‘होइन, जस्तो भए पनि मन पराए पछि सकिगो’ उत्तर आयो र विहे पनि भयो । प्रेम गरेपनि हाइब्रीड विहे गर्ने दुवै परिवारको सल्लाह पछि सो रीत पुरा गर्न मेरो बुवा मेरो कुरा लिएर जानुभयो । कुरैकुरामा बुवाले भन्दिनु भएछ, ‘हाम्रो दश पाथीको बीऊ लाग्ने खेत छ’ भनेर । पछि बिहे भइसकेपछि एकदिन उनले खेतबारी हेर्ने चाहना गरिन् । खेत देखाइदिएको, ‘बाँकी खेत कता छ?’ भनेर सोधिन् । ‘यति नै हो, दश पाथी धान आउँछ’ भनेँ । बुढी कहिले काँही ‘तपाईंहरुको खेत चाँही मानेँ’ भनेर जिस्किन्छे ।
सुरुमा पढ्न अनि पछि जागिर खान हिँडेपछि घर आउन पाइएन । दशैंमा सबै घर फर्किने तर हाम्रो गाउँका युवा दशैं तिहारमा पर्यटन क्षेत्रमा काम गर्न गाउँ छोडेर खुम्बु जाने हुनाले स्थायी परदेशी जस्तो भइयो । विहे गरेपछि घर जानु राम्रो भन्ने हाम्रो सल्लाह अनुसार एक साल घर पुगियो । घरमा पुग्दा बाबाले त्यो हाम्रो सानो खेत वेचेको कुरा गर्नुभयो । तल्लो लङको दाजुभाई मध्येको एक जना काकालाई बीस हजारमा वेच्नु भएछ । बुवा भन्नु हुन्थ्यो, ‘खेत राखेर मात्र के काम घरमा काम गर्ने कोही नभएपछि...’ अव हामी खेत नभएको परिवार भएका थियौं ।

Sunday, May 7, 2017

भोटाङ्गे जेठाको भाग्य

घरबाट सदरमुकाम आउने बाटैमुनी गाउँकै नामी पुरोहित (ब्राह्मण) पुन्य प्रसादको एउटा एल आकारको घर छ । यस हुङ उपत्यकाभरी नै उनी नामी ज्योतिषी हुन् । त्यसैले त सबैजना मान्छेहरु आफ्नो चिना देखाउन देखी ग्रहशान्ती गर्नसम्म उनैकहाँ धाउने गरेका छन् । उनलाई गाईदान नगर्ने त कोही छैनन् यो गाउँमा । बरु दोहोराएर गर्नेहरु थुप्रै भेटिन्छन् । उनी त यस उपत्यका भरी मात्रै नामी हुन् तर उसको छोरा भने काशी कि वनारस कता हो ज्योतिषशास्त्र पढेर फर्केपछि काठमाण्डौ उपत्यकाकै एक नामी ज्योतिष सेन्टरका प्रोप्राइटर छन् रे ।
घरको छानामा हेर्दा सेटेलाइटको टिभी लाइन जोडिएको थाहा हुन्छ । आँगनको छेउतिर तुलसीको बोट रोपिएका छन् । आँगन पुरै लिपेर चिप्लो बनाइएको छ । आगँनबाट तलतिर फर्केको पानी आइराख्ने निजी धारा छ । उनको समाचार यताउता गर्ने गाउँकै एक ईशारे छन्, ऊ बोल्दैन र पनि दोहोरो संचार राम्रै गर्छन् । प्राय सिकुवामा भएको खाटमा बसिराखेका भेटिन्छन्, बाटोबाटै देखिन्छ । घर माथि चौतारोबाट देखिन्छन् यी दृष्यहरु । नदेखिएको भित्री घरमा केके छन् त्यो थाहा हुन्न चौतारोमा विसाउने हरुलाई । चिन्नेहरुले बाजेलाई बाटोबाटै ‘बाजे नमस्कार!’ भनेर जान्छन् । नचिन्नेहरु चौतारीमा विसाएर वर पिपलको शीतल ताप्छन्, दृष्यावलोकन गरेर जान्छन् ।
चौतारीमा प्रायसः आफ्नो भारी विसाएर शितल ताप्नेहरुमध्ये पर्छ भोटाङ्गे जेठा । भोटाङ्गे जेठा उसको वास्तविक नाम होइन । उसको वुवाको नाम भोटाङ्गे हो, भुटानमा सुन्तला बोक्दा बोक्दै आमाले जन्माएर नेपाल ल्याएका नामै भोटाङ्गे रहन गयो । भोटाङ्गेको जेठो छोरा भएकोले उनको नाम भोटाङ्गे जेठो रहन गयो । उनको वास्तविक नाम जे भएपनि उनलाई चिन्नेजतिले यहि नामबाट चिन्ने गर्छन् ।
सदा भैmँ आफ्नो भारी विसाएर भोटाङ्गे जेठो र उसका अरु दुई साथिहरु पुन्य वाजेको घरतिरको बाटो डीलमा सुस्ताइरहेका थिए । ईशारे उनीहरुको छेउमा आएर उनको आफ्नै ईशाराको भाषामा ‘चिना देखाउनु, दशा सप्रिन्छ, दान गर्नु, धर्म हुन्छ’ भन्न थाल्यो । दुई जना साथीहरु ईशारेको कुरामा चाख देखाइराखेका वेला भोटाङ्गे जेठा भने झंगिएर त्यसलाई कुुटुँला भैmँ गर्न लाग्यो, ‘तँलाई काठा, झुट बोल्छस्, तेरै बाउलाई गर्न लगाऊ दान’ । त्यति गर्दा नमानेपछि उसले आफ्नो तोक्मा उचालेर हान्न लाग्यो । उसलाई साथीहरुले छेके, ईशारे भाग्यो ।
ईशारेले एकैछिनमा पुन्य वाजेलाई बोलाएर ल्याइहाले, पुन्य भुतभुताउँदै बाहिर निस्कियो, ‘यो किरुवा पो रैछ?’ आँगनबाटै माथितिर फर्केर करायो, ‘हैन यस्तो लाटालाई के गर्न खोज्या? पाप लाग्ला है पाप, यस्तो धर्मकर्ममा लागेको मान्छेलाई कुट्न खोज्ने?’ चौतारीको डीलबाटै जेठा करायो, ‘होइन वाजे तपाईंको आँगनैमा आको मान्छेको जे जे गर्नु तर बाटैमा चाँही यस्तो दानधर्मको झूटो प्रचार नगर्नु न ।’ धर्म र पाप छुट्याउने ठेक्का तपाईंको त होइन नि हौ । सबैको भविष्य तपाईंकै हातमा त हुन्न नि, त्यसैले त्यो ईशारेलाई बाटा बाटामा अर्काको दिमाग चाट्न नपठाउनुस् है ।’ पुन्य वाजेलाई आफ्नो विद्वतामाथि पहिलो पटक प्रहार भएकोमा असह्य भयो । ‘मलाई यो उपत्यकामा भूmट भन्ने तँ मात्रै एउटा निस्किस् ए! सारा दुनियाँले मानेको छ तलाईं केको खसखस? तैंले विश्वास गर या नगर तर तेरो भाग्यमा ठूलो अनिष्टको संकेत छ, कटाउन सक्छस्?’ वाजे करिव करिव गर्झियो । साथीहरुले रोक्दारोक्दै जेठा बोल्यो, ‘वाजे अलि माथी उक्लिनुस् त मेरो भविष्य हेर्ने तपाईंको भविष्य र भाग्य चाँही कति लामो रैछ हेरम् ।’ वाजे कुर्लिदै चौतारोतिर अगाडी बढे, ‘लु देखा, तेरो शास्त्र’ भन्दै । भोटाङ्गे जेठा भने कुनामा बिसाको डोकोबाट टल्किने खुकुरी निकालेर वाजेलाई झम्टिन लागे, ‘आइज तेरो भविष्य यहि अन्त्य गर्दिन्छु’ । वाजे हच्किए, ‘आमै! कत्रो ठूलो खुकुरी!’ जेठालाई साथीहरुले छेके, ‘के भाको तिमी? पढेको मान्छे पनि यस्तो मूर्ख गर्ने?’ जेठाले कड्किदैं भने, ‘ए! बाजे, यो त दाविलो ताछ्ने मात्र हो, मान्छे ताछ्ने त घरमै छ । यो बाजेको कुरामा लागेर मेरो जिन्दगी के भा छ त्यो मलाई थाहा छ केटा हो ।’ बाजे दारे हात लगाउँदै घरतिर फर्किए, भोेटाङ्गे जेठाहरु लागे । खास जेठाको कथा भने यस्तो थियो;
गाउँमा चिना देखाउने चलन हुनाले भोटाङ्गेहरुले पनि चिना देखाएका थिए । घरको जेठा छोराको देखाएपछि घर परिवार सबैको भूत भविष्य थाहा हुने विश्वासमा भोटाङ्गेको जेठो छोरा  भोटाङ्गे जेठाकै चिना देखाए । भोटाङ्गेको जेठो छोरा भोटाङ्गे जेठाको चिना यस्तो थियो;
‘अठार देखि पच्चीस वर्षसम्म ग्रह चल्नेछ, यो समयमा भीर, रुख र खोलाबाट जोगिनु पर्छ । सरकारी सिंदुर लगाउने योग छैन । बरु लाउरे ट्राइ ग¥यो भने हुने सम्भावना छ । सरकारी जागिर खान नसके पनि पैसा भने कमाउने छ । पढाईको कुरा गर्ने हो भने धेरै पढ्दैन, पढेपनि सो अनुसारको जागिर पाउन सक्दैन । दुई कर्म बोकेर आको रैछ । पहिलो लगन बाइस वर्षमा जुरेको छ, दोस्रो लगन तीसमा जुरेको छ । गाई दान गरेर कर्मदोष मेटाउन सकिनेछ । परदेश जानु त्यति फलदायक छैन, परदेश नगए पनि प्रगति गर्ने छ, तर विदेश भने जानु फलदायी नै देखिन्छ ।  .......।’
आजसम्म दुनियाँले पत्याएको नामी बाहुनको भविष्यवाणी एकजनाले मात्र अविश्वास गर्ने सवालै उठ्दैन । भर्खर एसएलसी दिएर बसेको सत्र वर्षको छोरालाई व्रिटीस लाउरेमा कोशिस गर्न लगाए । लिखित, दौड, स्वास्थ्य लगायतमा असफल हुँदा हुँदै तीन वर्ष वित्यो । सबैभन्दा राम्रो सफलता भनेको पोखरासम्मको यात्रा थियो । कोही कोही भन्थे, ‘दुई चार लाख पैसा पेल्न सकेको भए...।’ काठमाण्डौमा टे«निङ गर्दाको ऋण त ब्याज बढेर कहाँ पुगिसक्यो, लाउरे बन्नलाई घुस...। त्यसपछि सिंगापुर पुलिस हुँदै इण्डियन आर्मी सम्म ट्राई मारे । यस्तो हट्ठा कट्ठा शरिर भएका लाउरे ज्यान लाउरे नभई एकाइस वर्षका बुढा भए । आजसम्म भोटाङ्गेको परिवारले दुई पटक गाई दान गरिसकेका थिए, एकपटक कर्मदोष मेटाउन र अर्को पटक कतै लाउरे लागिहाल्छ कि भनेर ।
एसएलसी दिएपछि लाउरे बन्ने धुनमा बिर्सेको पढाईलाई निरन्तरता दिने कि बाइसमा जुर्नुपर्ने लगन जुराउने कि यस्तै दोधारमा वित्यो एक वर्ष । विद्यालय पढ्दा दिमाग साहै्र तेजिलो हुनाले उसले पहिलो, दोस्रो भएरै विद्यालय स्तरको पढाई पुरा गरेका थिए । यो देखेका विद्यालयमा सामाजिक पढाउने सदानन्द गुरुले एकदिनको भेटमा भने, ‘पढाईको लागि उमेर बार बन्दैन बाबु, अझ समय छ, पढ ।’ गाउँदेखि साँढे दुई घण्टा टाढाको बाटोमा पर्ने गाउँमा भर्खरै खुलेको कलेजमा एघार कक्षामा भर्ना भए तर कलेज जान सकेनन् पनि र गएनन् पनि । भर्खर सोह्र सत्र वर्ष पुगेका भाईबहिनीसँग पढ्न बाइस वर्षकोलाई लाज त हुने नै भयो, लाउरे ट्राई गर्दाको ऋण तिर्ने मेलो पनि त गर्नु परो । वर्षको छ महिना घर र छ महिना परदेश गर्ने जिन्दगी सुरु गरे जेठाले ।
जसोतसो पच्चीस वर्ष कटाए, कर्मदोषबाट ज्यान बचेकोमा पून्य बाजेलाई धन्यवाद दिनै प¥यो । यत्रो लाउर जानेको संख्या उल्लेख्य भएको गाउँमा ऊ मात्र लाउरे हुन नसकेकोमा भाग्यलाई दोषाए । जसोतसो बाह्र पास गरेपछि गाउँतिरै हल्लिराखेको बेला एकदिन सामाजिक गुरु सदानन्द सरसँग भेट भयो । उहाँको सुझाव थियो, ‘विद्यालयमा पढ्दा सामाजिक विषयमा त्यति धेरै ट्यालेन्ट र चासो दिने मान्छे लोकसेवामा भिड्नु नि, सरकारी जागिर खानुपर्छ तिमीजस्तो मेहनती र ट्यालेन्ट मान्छेले ।’ जेठाले आश मार्ने कुरा गरे, ‘आ.. सर, अव त उमेर पनि धेरै भैसक्यो, चिनामै सरकारी नुन खाने लेखेको रहेनछ त ।’ सरले भने, ‘मान्छे पैतीस वर्षमा पनि सरकारी जागिरमा छिरेका छन्, के ढिला भन्नु?’
सरसँग छुट्न पाको थिएन, आमाले घर बोलाई । घरभित्र बाबा र आमा मात्र थिए, अलि आश्चर्य र अलि खुशीको मुद्रामा । बाबाले हाँस्दै भने, ‘मान्छे त सोझो पो भन्या त, चलाख पो रैछस्, हाहाहा....।’ जेठा छक्क परे । अचानक के विषयमा कुरा भैराखेको हो बुझ्न सकेन । कुरा बुझ्न खोज्यो, ‘के भन्न खोज्या? फेद न टुप्पो?’ आमाले भनिन्, ‘खोलानिरको छेऊघरे जेठाको माइली तेरो बच्चाको आमा बन्ने वाला छ रे, हो कि त तेरै?’ तव जेठोले लाजले स्वीकारोक्तिको शिर निहुराए, उसले त बिर्सिसकेको पो रहेछ, माइलीसँगको गहिरो प्रेम त । उनीहरुको प्रेम तीन वर्षअधिको सरस्वती मेलामा माइलीले भुटेको भट्मास ल्याइदिए देखि झाँगिएको हो । अनि कतिखेर के के गरियो, ती पलहरु आँखामा आउन थाले । अव घर सल्लाह गर्नु थियो कहिले कसरी आउन लागेको नातीसहितको बुहारी भित्राउने भनेर । यस कुराको छिनोफानो गर्न पर्सितिर मामालाई छेऊघर पठाउने सल्लाह भयो ।
साँझ जेठो आफ्नी माइलीको कोठा लुसुक्क छि¥यो । माइलीको कोठा घरको पछाडीको भागमा घरसँगै जोडेर बनाएको हुनाले घरका कसैसँग देखादेख नभई पनि भित्र छिर्न सकिने अवस्था थियो । खुशीको खवर साटासाट गर्दागर्दै जेठाले सोधे, ‘.....अनि कहिलेको पो?’ मुसुमुसु हाँस्दै माइली बोलिन्, ‘त्यो एकदिन मैले कोठामा करेला खान ल्याएदिएको थिएँ नि त्यसै दिनको हिहि... ।’
जेठाको बिहे भयो, छोरी जन्मियो, पछि छोरा पनि जन्मियो । गाउँकै विद्यालयमा पढाउने काम पायो । दुई वर्ष वल्लतल्ल कटायो । सरकारी शिक्षकको दाँजोमा तीन भागको एक भाग तलवबाट सुरु गरेको जति मेहनत गर्दा पनि सरकारी तलव स्केलको आधाभन्दा बढ्न सकेन । ऋण तिर्नु त कहाँ हो कहाँ घरपरिवार धान्न पनि बल्ल पुग्ने अवस्थाबाट माथि उठ्न नसकेपछि पढाउने काम छोड्नुको विकल्प देखेन जेठाले ।
गाउँबाट अचानक हराएको जेठाले करिव छ महिनापछि खवर पठायो, ‘कतार जाँदैछु’ भनेर । ‘हतारमा हिँडेको मान्छे कतार जान लागेछ ।’ गाउँको विद्यालयको हेडमास्टरले भने । फेरी अर्को छ महिना पछि फेरी खवर आयो, ‘विदेश जाँदाको ऋण तिरियो’ भनेर । त्यसपछि जेठो अचानक हरायो । गाउँमा श्रीमतीले जसो तसो छोरा छोरी पढाइन् सानो चिया पसल गर्दै । कतिले त बुढा विदेशमा भएको मौका पनि छोप्न नखोजेका होइनन् तर माइली त्यस्तो मान्छे होइनन् । उनी गाउँका एकदुई एसएलसी पास गरेका छोरीहरुमध्ये एक थिइन् ।
गाउँबाट हराको तीन वर्षमा जेठो गाउँ फर्किए, डोकोमा ब्रिफकेस आँफै बोकेर । एक डोको सामान, सबै ऋण छिनाउने पैसा र दुई डोको जति ज्ञान लिएर विदेशबाट फर्किदा अर्कै भैसकेका थिए जेठा । मोबाइल फोन पनि बल्ल चल्ने गाउँमा इन्टरनेट चलाउनको लागि एउटा इन्टरनेट प्रदायक संस्थासँग कुरा गर्न भ्याइसकेको थियो । यति चाँडो र यति फराकिलो गरी सोचँ, बुझाई र ज्ञान बढेको थियो जस्तो अनुभव भइराखेको थियो उनलाई । अंग्रेजी भाषा र कम्प्यूटर चलाउने ज्ञान लिएर आएको थियो ऊ । ‘के मा काम ग¥यो, कतारमा?’ भन्ने प्रश्नमा, ‘सेक्यूरिटी गार्ड’ भनी श्रीमतिलाई साँचो कुरा वतायो । ‘अरुको भन्दा राम्रै कमाएछौ त ।’ भन्दा, ‘लाउरे ट्राई गर्दाको तालिम र बनाको जिऊ काम लाग्यो, अंग्रेजी अझ सुधारेँ, काम त सजिलो थिएन तर कमाई ठिकै भो । अव आफ्नो गाउँमै केही गर्नुपर्ला ।’ भनेर कुरा अरुतिरै मोड्न थाले । उनलाई विदेशमा गरेको काम बारे खास कुरा गर्ने मन नै भएन ।
ऋण तिरेर बचेको पैसाले सानो खुद्रा पसल जोडे गाउँमै र गाउँलेलाई खास चाहिने सामानको अध्ययन गरेर सानो सानो व्यापार गर्ने सोँच बनाए ।
एकदिन छोरीको पढाई बुझ्न र पुराना सहकर्मी शिक्षकहरुसँग भेटघाट गर्न भनी विद्यालय पुगे । विद्यालयमा टिफिनको समयमा सरहरु यस विद्यालयका पुराना विद्यार्थीहरुको सफलताको लेखाजोखा हुँदै थियो । ‘यस विद्यालयमा पढेकाहरु नेपाल आर्मी, शिक्षक बाहेक निजामतीमा मात्र नौ दश जना छिरिसके’, ‘दुई जना त अधिकृत स्तरकै’ आदि आदि । ती मध्ये धेरै जसो जेठाकै अघिपछि, सँगैका साथीहरु थिए । जुन कुराहरु जेठालाई थाहा भैसकेकै कुरा थिए, तर आज सुन्दा वेग्लै लाग्यो ।
वेलुका मूलघर गएर आमा बुवालाई जेठाले भने, ‘खासमा हाम्रो भविष्य त आफैँले पो बनाउने रैछ त । त्यो पुन्य बाजेले भनेकै त नहुने रैछ नि । जस्तै मैले दुई विहे गरिनँ, लाउर पनि गइनँ, रुख, भीरबाट पनि लडिनँ......’
त्यसपछि..... आफ्नो पसलमा सामान थप्न भरिया साथिहरु लिएर गई फर्किदा खेरी त्यो घट्ना घटेको थियो ।