Sunday, May 22, 2016

‘राई’ जाति कि पदवी ?

‘राई’ जाति कि पदवी ?

निनाम लोवात्ती कुलुङ
हो, आजभोलि राई भन्ने बित्तिकै मान्छेहरूले नेपालका एक जाति हुन् भन्ने बुझ्छन् तर सुरुमा यो राई शब्दले जात वा जाति जनाउँथेन । पृथ्वीनारायण शाहले नेपाललाई भगौलिक एकीकरणको सुरुवात गरेपछि पूर्वका किराँतीहरूको भूगोललाई तीनभागमा विभाजन गरियो । जस्तै (वल्लो किराँतका प्रभावशाली सुनुवार किराँतीहरूलाई ‘मुखिया’, माझ किराँतका प्रभावशाली कुलुङ, खालिङ, साम्पाङ थुलुङलगायतका किराँतीहरूलाई ‘राई’ र पल्लो किराँतका प्रभावशाली लिम्बुहरूलाई ‘सुब्बा’ याक्खालाई ‘देवान’ पदवी÷पगरी दिइयो । ) यसरी इतिहास हेर्ने हो भने ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदि पदवी÷पगरी सिर्जना गरेर हारेका स्थानीय स्तरका स–साना किराँती राजा–महाराजाहरूलाई थुम–थुम्याउन र ‘अबदेखि तिमीहरू राजा नभए पनि राजासरह नै हौ है !’ भनेर सान्तवना दिनका लागि र स्थानीय स्तरमा जग्गाको तिरो–भरो उठाउन, उठेको रकम केन्द्रमा बुझाउन, पञ्चखतबाहेकको झै–झगडा स्थानीय स्तरमै मिलाउनका लागि पनि माथि उल्लेखित पद वा पगरीहरूको सिर्जना गरेको देखिन्छ । 
हुँदा हुँदा पछि गएर ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदि पदवी÷पगरी अन्य जातजातिका टाउकेहरूले पनि पाएको देखिन्छ । यसरी इतिहास हेर्दा ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदि शब्दले नेपालको कुनै पनि जात वा जाति नजनाएर नेपालको भगौलिक एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहका सन्तान दरसन्तानहरूले दिएको पदवी÷पगरी मात्रै जनाउँथ्यो भन्ने कुरो अरु त अरु हाल कथित् राई जाति हौँ भन्ने हामी किराँतीहरू मध्ये नै धेरैलाई थाहा छैन !?। फेरि राई जस्तै पगरी÷पदवी पाएका अन्य किराँती जातिहरू जस्तै सुनुवार (कोइँच), लिम्बु (याक्थुक्बा) र याक्खाले पाएको ‘मुखिया’, ‘सुब्बा’, ‘देवान’ पदवी÷पगरीलाई उनीहरूले जातिको रूपमा लेख्न÷मान्न छाडिसके भने ‘राई’ पदवी÷पगरी पाएका किराँतीहरूमध्ये कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, जेरो, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङलगायतका किराँती जातिहरूले भने अझै पनि विभिन्न कारणले ‘राई’ पदवी÷पगरीलाई नै जाति मान्नु पर्ने बाध्यता रहेको छ तापनि ‘राई’ जाति नभएर पदवी÷पगरी मात्रै हो भन्ने प्रमाणहरू भेटिन÷देखिन थालेपछि (जस्तै त्यो बेलाका केन्द्रमा रहेका शासकहरूले स्थानीय स्तरमा नियुक्त गरेका ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदिलाई लेखेको आदेश पत्रहरू, विभिन्न समयमा जारी गरिएको लालमोहोर, सनदपत्र र ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदिले ९९ रूपैंयासम्मको घरैमा जग्गापास गरेको घरायसी कागजपत्रहरूमा स्वयं ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’हरूले पनि आफ्नो नामको अगाडि आफूले पाएको पदवी पगरीलाई जनाएर मात्रै कागज गरेको पाइएपछि २०५८÷२०५९ देखि कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, जेरो, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङलगायतले ‘राई’ पदवी÷पगरीलाई जातिको रूपमा नमान्ने निर्णय गरेर व्यापकरूपमा आन्दोलन चलाए । फलतः २०६४÷२०६५ मा नेपाल सरकारले समाजशास्त्री डाक्टर ओम गुरुङको नेतृत्वमा नौ सदस्य रहेको उच्च स्तरीय आदिबासी जनजाति अध्ययन तथा पुनः सूचीकरण कार्यदल गठन ग¥यो । उक्त कार्यदलले किराँतीभित्रका चार जाति कुलुङ, याम्फु, आठपहरिया, लोहोरुङलगायत अन्य २१ जति गरेर २५ जाति थपेर र पहिले सूचीकृत ५९ जातिमध्ये वनकरियालाई चेपाङमा गाभेर र फ्री र छैरोतन भन्ने जाति नै नभेटिएकोले खारेज गरेर हाललाई ८१ जातिलाई सूचीकृत गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । यता २०६८ को जनगणनामा कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङलगायत १२ वटा किराँती जातिहरूले कथित् राई जातिलाई हटाएर अलग्गै जातिको रूपमा लेखाएका÷आएका छन् । 
यसरी हेर्दा राई शब्द जातिको रूपमा व्यापक रूपमा सर्वसाधारण माझ प्र्रयोग भएको भनेको २०२१ सालमा भूमि सुधार ऐन आएपछि मात्रै हो । त्यो पनि २०२९÷२०३० सालमा तीव्र रफ्तारमा यो ऐन गाउँ–गाउँ, वडा–वडा, टोल–टोलमा लागू गरेपछि ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदिको अधिकार कटौती हुँदै गएर अन्तमा उनीहरू अधिकारविहीन नै भएका थिए । यसरी हेर्दा साँच्चै कथित राई जातिको इतिहासबारे अध्ययन–अनुसन्धानै गर्ने हो भने नेपाल एकीकरणभन्दा अघि जान सकिँदैन । हुन त त्यसभन्दा अघि पनि राई भएको तर्क गर्नेहरू पनि नभएका होइनन् तर त्यसबेला राई नभएर ‘राय’ थिए र त्यसबेलाको ‘राय’को रूप भनेको पनि राई जस्तै जाति नभएर हालको प्रधानमन्त्री सरहको पदको रूप थियो र नै सेनहरूको पालामा बुद्धिकर्णलगायतका व्यक्तिहरू पनि विजयपुरमा ‘राय’ भएका थिए । जुन व्यक्तिहरू सेन शासकहरूका पालामा ‘राय’ भएका थिए, उनीहरू लिम्बु जातिका पूर्खा भएको प्रमाणित भएको छ । असलीयतमा ‘राय’ भनेको कर्णालीको भाषिका हो भने यो ‘राय’ शब्दले त्यो बेला कर्णालीमा ‘राजा’ जनाउँथ्यो । यसरी हेर्दा ‘राई’को इतिहास भनेको लगभग २ सय ५२ वर्ष जतिको हुने देखिन्छ । यो आधारमा हेर्दा ‘राई’ नेपालको आदिवासी हुन सक्छ त ? स्वाभाविकरूपमा प्रश्न उठ्छ । जबकि हाल नेपालमा आफूलाई किराँती भनेर चिनाउने कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, जेरो, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङलगायतका किराँती जातिहरू आदि अनादि कालदेखि यस भूमिमा बस्दै अएका थिए÷छन् भने उनीहरूको आ–आफ्नो उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि छ । किराँत संवत् येले÷यले दोङ÷तङ्बे ( किराँती जातिहरूको आफ्नो आफ्नो मातृभाषाअनुसार फरक–फरक नाम) समेत छ । 
हाल किराँती भनेर चिनाउने कुलुङ, आठपहरिया, बाहिङ, खालिङ, जेरो, बान्तावा, याम्फु, साम्पाङ, चाम्लिङ, थुलुङ, मेवाहाङ, लोहोरुङलगायतका जातिहरूमा नेपालका अरू जातजातिमा जस्तै आफैभित्र थर उपथरहरू छन् । कुलुङजाति भित्रै विवाह हुन्छ भने हाल कथित राई जाति भनिएको अन्य जातिहरूबीच एकआपसमा भाषा, संस्कार संस्कृति आदि मिल्दैन । अर्थात् कुलुङले बाहिङ वा बान्तावासँग विवाह गरेमा ‘एक्सो ग्यामस’ नै हुन्छ । किनभने उनीहरूबीच भाषा नमिल्ने त छँदैछ । कतिपय संस्कारगत कुरोहरू पनि मिल्दैन । जुन अरू जातिसँग पनि मिल्दैन । 
हुन त कथित राई जातिको नाममा खुलेको एक गैर सरकारी संस्था (समाज कल्याण परिषद् दर्ता नम्बर २६५६) का हर्ताकर्ताहरूले कुनै पनि जातजातिको आत्मनिर्णयको अधिकार हनन् गर्न पाउँछ ? भन्ने प्रश्न पनि छ । पाउँछ भने उसलाई यो छूट कसले दियो ? किनभने उनीहरू ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ । ’ भन्ने खालको भ्रम छर्दै हिँड्छन् । जबकि नागरिकता र राहदानी भनेको आफ्नो देश छाडेर परदेश जाँदा देशीय चाहिने चिनारी हो । अर्थात् कुनै पनि व्यक्ति कुन देशको नागरिक हो ? भनेर चिनाउने आधार हो । जात वा जाति चिनाउने प्रमुख आधार भनेको त सम्बन्धित जातजातिको उत्पत्ति थलो, ऐतिहासिक भूमि, मातृभाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रहन, सहन आदि हो । तापनि नागरिकताकै कुरो गर्ने हो भने पनि हाम्रो देशका कतिपय बूढापाकाहरू राज्यबाट बृद्ध पाउने भएपछि ९८, ८८, ९६, १०८ वर्षमा भर्खर नागरिकता बनाउँदै छन् । जे भए पनि राईकरणबाट मुक्त हुन चाहेका कुलुङ, जेरो, याम्फु, बान्तावा, चाम्लिङ, आठपहरिया, बाहिङ, खालिङ, साम्पाङ, थुलुङ, मेवाहाङ, लोहोरुङलगायतका किराँती जातिहरूलाई रोक्न नसकेपछि अन्तिम अस्त्रको रूपमा राईवाला सरहरूले केन्द्रीय तथ्याङ्क विभागमा गएर २०६८ को जनगणनामा स्वतन्त्र जातिको रूपमा लेखाएको÷आएको किराँती जातिभित्रका १२ वटा जातिहरूलाई कथित राई जातिभित्रै गाभेर (कुलुङ, जेरो, याम्फु, बान्तावा, चाम्लिङ, आठपहरिया, बाहिङ, खालिङ, साम्पाङ, थुलुङ, मेवाहाङ, लोहोरुङलगायतका जातिहरूको) अलग्गै रूपमा जातीय स्वपहिचान नआओस् भनेर कथित सूचीकृत ५९ जातिको तथ्याङ्कको आधारमा मात्रै केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणना सार्वजनिक गर्न बिन्तीभाऊ गरेका थिए । 
हो, अब अलिकति छलफल गरौँ कुलुङ, जेरो, याम्फु, बान्तावा, चाम्लिङ, आठपहरिया, बाहिङ, खालिङ, साम्पाङ, थुलुङ, मेवाहाङ, लोहोरुङलगायतका जातिहरू साँच्चै नेपालका अन्य जातिसरह अलग्गै जाति हुन् कि होइनन् भन्ने बारेमा । माथि नै ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ आदि जात नभएर नेपाल एकीकरणपछि शासकहरूले दिएको पदवी÷पगरी मात्रै हो भन्ने बारेमा प्रशस्तै चर्चा भइसकेको छ । हुन पनि ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘देवान’ मात्रै नभएर विचारी, डिठ्ठा, खरदार, सरदार, बैदार, थरी, कारबारी, माथा, करता, गौरुङ, तोहले, पाँचखपन, दशखपन, द्वारे, हुक्के, बैठके आदि पदहरूको पनि सिर्जना भएको थियो । अझ त्यो भन्दा पनि ठूलो हालको ‘प्रधानमन्त्री’ सरहको पद ‘काजी’, ‘चौतरिया’ र ‘मुख्तियार’ पदको पनि सिर्जना भएको थियो भने नेपालको इतिहास हेर्दा फत्तेजङ्ग शाह ‘चौतरिया’, रङ्गनाथ पौडेल बाहुन ‘मुख्तियार’ र भीमसेन थापा, अभिमानसिंह बस्नेतलगायतका धेरै मान्छेहरू ‘काजी’ भएका थिए तर खै किन हो ? तिनका सन्तान दरसन्तानहरूले ‘काजी’, ‘चौतरिया’ र ‘मुख्तियार’ पदलाई जात वा जाति मानेको देखिँदैन । 
हुन पनि त्यो बेलाको प्रशासनिक विभाजनअनुसार खोटाङको रावा–राखाको तत्कालीन ‘राई’ भूपालसिंह ज्यमीको घरमा गरिएको ‘९९ सय’को घरायसी राजीनामा कागज (जग्गा किनबेचको)मा, जुन कागज विक्रम संवत् १९९६ मा तमसुक गरिएको छ, उक्त कागजमा के लेखिएको छ भने, त्यो बेला ‘राई’ पद पाएका व्यक्तिहरूले पनि हाल प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, प्रधान सेनापति, प्रहरी महानिरिक्षक आदि पाएका व्यक्तिहरूले जस्तै नामको अगाडि ‘राई’ लेख्थे । अर्थात् रावा–राखाका तत्कालीन ‘राई’ भूपालसिंह ज्यमीको पनि नामको अगाडि नै आगे ‘राई’ भूपालसिंह ‘ज्यमी’ लेखिएको छ भने साक्षी बस्नेहरूको भने नामको अगाडि ‘राई’ लेखिएको छैन । हुन त यो ‘राई’ पद पनि सानो ठूलो हुन्थ्यो । डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ नामक किताबमा लेखेअनुसार २०२१ सालको भूमि सुधार ऐन लागू हुँदा कतिपय राईहरू नै खुशी भए । किनभने ठूला राई होस् वा साना राई, घरधुरीको आधारमा नभएर सबै राईहरूले केन्द्र सरकारलाई बराबर कर बुझाउनु पथ्र्यो । यसले गर्दा साना राई अर्थात थोरै भूमि वा कम एरियाको राई भई खाएका राईहरूलाई मर्का पथ्र्यो । खासमा हालको संविधासभा चुनाव दुईमा पनि यी राईकरणको मारमा परेका किराँती जातिहरूको प्रतिनिधित्व नहुर्कने देखिन्छ ।
http://gorkhapatraonline.com/news/21445

No comments: