Monday, October 17, 2016

यस्ता थिए तयामा, खियामा र रैछाकुले

यस्ता थिए तयामा, खियामा र रैछाकुले

आदिम किराती सभ्यता

विजय चाम्लिङ / राजधानी
काठमाडौं, ४ भदौ
आदिम किराती पुर्खाहरू मानिने तयामा­, खियामा र रैछाकुले कस्ता थिए ? यो जिज्ञासाको जवाफमा किराती लोकोक्ति र मिथकहरूमार्पmत कल्पना मात्रै गर्न सकिन्थ्यो ।तर, हाल तयामा­, खियामा र रैछाकुलेलाई रेखाचित्रमै उतारिएको छ । किराती मिथकहरूमा सीमित हुँदै आएको तयामा, खियामा र रैछाकुलेको रेखाचित्र किरात राई यायोक्खाले शनिबार सार्वजनिक गरेको छ ।
करिब डेढ वर्षको अध्ययन, अनुसन्धान र छलफलपछि यायोक्खाले किरातीहरूको आस्थाको प्रतीक मानिने तयामा, खियामा र रैछाकुलेलाई रेखाचित्रमै उतारेको हो ।
मुन्धुमअनुसार तयामा, खियामा र रैछाकुले पातेसुङ र दिलिदुमका सन्तान थिए, रैछाकुले जालले कोसीमा माछा मार्थे, धनुकाँणले सिकार खेल्थे, तयामा र खियामा कपडा बुन्थे,’ रेखाचित्र सार्वजनिक भएपछि किरात राई यायोक्खा तयामा खियामा रैछाकुले प्रतिमा स्थापना समितिका संयोजक गेन राईले भने, ‘उनीहरू हाम्रा महान् पुर्खाहरू हुन्, उनीहरूले नै हामीलाई जंगली युगबाट खेतीपाती र सभ्य जीवनमा प्रवेश गराएका हुन् ।
यायोक्खाका अनुसार तयामा, खियामा र रैछाकुलेको सम्बन्ध खोटाङको महादेवस्थान गाविसस्थित तुवाचुङ जायजुम डाँडा र हलेसी गुफासँग जोडिन्छ ।
तुवाचुङ जायजुम डाँडामा दिदीबहिनी तयामा र खियामाले तानमा कपडा बुनेको जनविश्वास छ । तुवाचुङ जायजुम डाँडानजिकै रहेको हलेसी गुफामा उनीहरूको बासस्थान रहेको लोकोक्ति छ ।
किराती मिथकअनुसार रैछाकुलेले माछा मार्ने क्रममा बारम्बार जालमा एउटै ढुंगा परिरह्यो । नागराजाकी छोरी वाइलुङमा ढुंगा बनेर रैछाकुलेको जालमा परिरहेकी र त्यसपछि उनीहरूबीच विवाह भएको र विवाह तथा घरजमको संस्कृति सुरु भएको मानिन्छ । रैछाकुलेले सिकार खेल्ने क्रममा एक दिन ढुकुर मारेको र ढुकुरको गाँडमा भएको अन्न (कोदो) बारीमा छर्दा फलेपछि त्यसैलाई पाठको रूपमा लिँदै खेती गर्न सुरु गरिएको मिथकहरूमा पाइन्छ ।
नयाँ अन्न पितृपुर्खाहरूलाई नचढाई खाएमा बिरामी परिने विश्वासका साथ छौवा (न्वागी, यस चाडमा नयाँ धानको परिकार पितृलाई चढाइन्छ र यही दिनदेखि नयाँ अदुवा चलाइन्छ) गर्ने संस्कृति अहिले पनि प्रचलनमै छ,’ यायोक्खाका उपाध्यक्षसमेत रहेका संयोजक राईले भने, ‘जंगली युगमा मानिसले नरमखालका रूखपातका बोक्रा र जनावरका छाला कपडाको रूपमा प्रयोग गर्थे तर खेतीपाती गर्न थालेपछि मानव जातिले कपडा बुन्न थालेको हाम्रो समाजमा लोकोक्ति छ ।
मुन्धुम वा मौखिक रूपमा रहेका संस्कृतिहरूलाई भौतिक संस्कृतिको रूपमा विकास गर्न नसके भविष्यमा ती पनि लोप हुन सक्ने भएकाले नै तयामा, खियामा र रैछाकुलेको रेखाचित्र निर्माण गरिएको यायोक्खाले जनाएको छ । रेखाचित्र सार्वजनिक कार्यक्रममै यायोक्खाले तुवाचुङ जायजुम डाँडामा तीनैजना आदिम पुर्खाहरूको प्रतिमा निर्माण गर्ने जनाएको छ । तुवाचुङ जायजुम डाँडाको २ सय ५८ रोपनी जग्गा हाल यायोक्खाअन्तर्गत ल्याइएको छ ।
किरात समुदायको इतिहास, संस्कार र संस्कृतिका विज्ञहरूसँग विस्तृत छलफल गरी अलगअलग वा संयुक्त प्रतिमा बनाइनेछ,’ समितिले उल्लेख गरेको छ, ‘प्रतिमाको आकार र स्वरूपबारे पनि विज्ञहरूसँग छलफल र सरोकारवालाहरूको सल्लाह अनुसार नै निर्णय गरिनेछ ।तयामा, खियामा र रैछाकुलेको रेखाचित्र कलाकार अर्जुन खालिङले बनाएका हुन् । तुवाचुङ जायजुम डाँडामा प्रतिमा निर्माण गर्दा रेखाचित्र र प्रतिमा बनाउने कलाकारसँगै बसेर काम गर्नपर्ने खालिङले बताए । 

No comments: